यातायातको भाडा फेरि बढाउने तयारी, सर्वसाधारणको चुलोमा आगो बल्न कठिन


काठमाडौं । मध्यपूर्वमा युद्ध जारी रहँदा सर्वसाधारण नेपाली जनताको जीवनयापनमा निकै कठिनाइ उत्पन्न हुने देखिएको छ । सवारीसाधनको भाडा बढेपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएको छ ।

सामान्य परिवारलाई हातमुख जोर्न धौ धौको अवस्था देखिन्छ । आम्दानी र ज्याला नबढेको अवस्थामा आगामी दिनमा सर्वसाधारणको चुलोमा आगो बल्न कठिन हुने निश्चित छ ।

यहीबेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजनका लागि पुनः माग गरेको छ । आयल निगमले डिजेलमा प्रतिलिटर ३० रुपैयाँ बढाएपछि महासंघले तत्काल भाडा समायोजन गर्न वा मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासंघले बढ्दो मूल्यवृद्धिले सवारी साधन सञ्चालन गर्न कठिनाइ भएको जनाएको छ ।

‘डिजेल–पेट्रोलमा भारी मूल्यवृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएको हुँदा मिति २०८२–१२–२७ गते र मिति २०८३–१–२ गते भएको मूल्यवृद्धिका आधारमा तत्काल नेपाल सरकारले विगत २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधिअनुरुप स्वचालित प्रणालीबाट ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौं’, महासं३ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले मूल्यवृद्धिको वैकल्पिक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागले गत चैत २५ गते भाडा बढाएको थियो । जसअनुसार सार्वजनिक यातायातमा १६ दशमलव ७१ प्रतिशत र मालवाहक सवारीतर्फ पहाडी क्षेत्रको हकमा २१ दशमलव ६८ र तराई क्षेत्रको हकमा १५ दशमलव ७५ प्रतिशत भाडा बढिसकेको छ ।

डिजेल र पेट्रोलमा अचाक्ली भाउ बढेपछि सर्वसाधारण सर्वजनिक यातायात चढ्न थालेका छन् ।