बालेनको कार्यशैलीसँग असन्तुष्ट ओमप्रकाशले गराए सचेत


काठमाडौं – पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल प्रधानमन्त्री वालेन्द्र शाह बालेनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । संविधान र कानुनको शासन स्थापना गर्नुपर्नेमा प्रधनमन्त्री बालेनको कार्यशैली त्यसअनुरुप नभएको भन्दै उनले सचेत गराएका छन् ।
कार्यसम्पादनमा आक्रमक देखिन थालेका बालेनलाई अर्यालले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिएर सचेत गराएका हुन् । ‘रुल अफ ल र रुल बाई लवीच तात्विक फरक छ । सुशासनको जग बसाल्न ‘रुल अफ ल’को जगेर्ना गरौँ । दिशाबोध होस्, तत्त्वबोध पनि होस्,’ अर्यालले लेखेका छन् ।

सरकारले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउन कडा नीति र पुराना फाइलहरू खोलेर अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन आक्रमकशैली अपनाएको छ । तर, सरकारका ती कदमहरूको प्रशंसा र आलोचना दुवै भइरहेको छ ।

यस्तै, सरकारले वैकल्पिक व्यवस्थापन नै नगरी काठमाडौं नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउन लागेको छ । सर्वसाधारणदेखि प्रायः सबै दलले यसको आलोचना गरेका छन् । सुकुम्बासी बस्तीमा अहिले त्रास छाएको छ । पूर्वगृहमन्त्री अर्यालले यसतर्फ पनि इंगित गरेको बुझ्न सकिन्छ ।

बालेन र अर्यालबीच विगतमा हार्दिक सम्बन्ध थियो । बालेनले मेयर हुँदा अर्याललाई आफ्नो कानुनी सल्लाहकार बनाएका थिए । तर अहिले दुवैबीच सम्बन्ध सुदृढ नभएको बताइन्छ ।