कांग्रेस केन्द्रीय कार्यसमिति निर्वाचनमा भोलि बिहान १० बजेदेखि मतदान


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भोलि (असोज २२ गते) मतदान हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने जनाएको छ। मतदानका लागि दुईवटा केन्द्र तोकिएका छन्।

मतदान केन्द्र ‘क’ राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा रहनेछ भने मतदान केन्द्र ‘ख’ खुलामञ्चमा रहनेछ। राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै नेपाल जनसम्पर्क समिति (पहाड हल) का प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

समितिले मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका वस्तु लैजान नपाइने जनाएको छ। साथै मतदातालाई आफ्नो प्रदेशका लागि तोकिएको मतदानस्थलमा गई मतदान गर्न अनुरोध गरेको छ।