विजय कुमार पाण्डेले भने– कि राष्ट्रपति कि प्रधानमन्त्री राजीनामा दिनुपर्छ


काठमाडौं – पत्रकार विजय कुमार पाण्डेले संसदमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति कडा टिप्पणी गरेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा देखिएको व्यवहारप्रति प्रश्न उठाउँदै संविधानको संरक्षकका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सचेत गराउनुपर्ने वा अन्यथा पदमै पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यसैगरी उनले सभामुख डीपी अर्यालको भूमिकाप्रति पनि टिप्पणी गर्दै सदनको मर्यादा कायम राख्ने र आवश्यक रुलिङ दिने अपेक्षा गरेका छन् ।

पाण्डेले विभिन्न राजनीतिक दल र नेताहरूप्रति पनि कटाक्ष गर्दै संसदभित्रको व्यवहार र शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले रास्वपा, प्रमुख दलहरू र नेताहरूको भूमिकाबारे व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

उनको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ ।

पत्रकार विजय कुमार पाण्डे भन्छन् : राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।

साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।

रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद ‘स्वतन्त्र’ छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।

बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?

एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।