भन्सार छली गरेर अवैध रूपमा भारततर्फ लैजाँदै गरेको दुई ट्रक सामान सशस्त्र प्रहरीको नियन्त्रणमा


मधेस प्रदेश l सिरहाबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको करिब १९ लाख ४७ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानसहित ट्रक र दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार सिरहाको देवनगरस्थित सीमा क्षेत्रमा खटिएको गस्ती टोलीले जेठ २ गते राति विशेष सूचनाको आधारमा कारबाही गरेको हो। स १ ख ५३५ नम्बरको ट्रकमा नेपालबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको कस्मेटिक सामग्री, टुथपेस्ट तथा ओखरसहित राजेश यादव र आनन्द यादवलाई नियन्त्रणमा लिइएको जनाएको छ।

नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा बुझाइने तथा चालकहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।