दार्चुलाको मार्मामा एनसेलको नयाँ टावर, फोरजी सेवा सञ्चालनमा


काठमाडौं – एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै फोरजीलगायतका दूरसञ्चार सेवा विस्तार गरेको छ।

नयाँ टावर सञ्चालनमा आएपछि मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाले मोबाइल तथा इन्टरनेट सेवामा थप सहज पहुँच पाएका छन्। स्थानीयको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर टावर जडान गरिएको एनसेलले जनाएको छ।

टावर सञ्चालनसँगै स्थानीय बासिन्दासँगै अपि हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिका लागि उक्त क्षेत्रमा पुग्ने पर्यटकलाई समेत भरपर्दो सञ्चार सेवाको सुविधा पुग्ने कम्पनीको भनाइ छ।

एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले नयाँ टावरमार्फत दुर्गम क्षेत्रसम्म फोरजी सेवाको पहुँच विस्तार गर्न सफल भएको बताइन्। उनका अनुसार स्थानीय तथा पर्यटकलाई सहज सञ्चार सेवा उपलब्ध गराउनु एनसेलको प्राथमिकतामध्ये एक हो।

हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा प्रदान गर्दै आएको छ। मार्मामा सञ्चालनमा ल्याइएको नयाँ टावरबाट टुजी र फोरजी प्रविधिमा आधारित सेवा उपलब्ध हुनेछ।

नयाँ टावरले दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँच थप सहज बनाउनुका साथै अपि हिमाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।