हुम्लाको नेप्का गाउँमा पहिरोका कारण विद्यालय भवन बगायो


हुम्ला l हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। गए राति एक्कासी परेको असिनापानीपछि खसेको पहिराले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवन, खेतीयोग्य जमिन र स्थानीयका गोठहरू पुरिएको बताइएको छ।

स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार पहिरोले विद्यालय भवनसँगै आसपासको कृषि भूमि र पशु गोठमा पनि क्षति पुर्‍याएको छ। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठहरू समेत पहिरोमा पुरिएका छन्, जसमा रहेका भेँडाबाख्रामा समेत क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको र अवस्था मूल्याङ्कन भइरहेको छ।

सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने चङ्खेली गाउँपालिकाको नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्छ, जहाँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ। लगातार वर्षा र भौगोलिक कठिनाइका कारण उद्धार तथा राहत कार्यमा चुनौती देखिएको छ।