बालेन सरकारले दियो थप ३०४ साना बचतकर्ताको रकम फिर्ता


काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका २ सय १६ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ ।

यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ तथा पशुपति सहकारीका ७ जना गरी ३ सय ७८ जना बचतकर्ताको रकम फिर्ता गरिसकेको थियो ।

समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ ।

हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र सोभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । समितिका अनुसार कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको छ ।