संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल


काठमाडौं l संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल प्रक्रिया सुरु गरेको छ। संविधान संशोधनका विषयमा व्यापक बहस, सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित कार्यदलले सरोकारवाला पक्षसँग परामर्शलाई तीव्र बनाएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधनसम्बन्धी बहसपत्रका लागि सुझाव संकलन गर्न विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग छलफल गरिरहेको छ। छलफलमा संविधानका विद्यमान व्यवस्थाहरू, सुधार गर्नुपर्ने क्षेत्र तथा समयअनुसार आवश्यक मानिएका संशोधनका विषयमा धारणा राखिने जनाइएको छ।

कार्यदलले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई सीमित दायराभित्र नभई व्यापक छलफल र सहभागितामार्फत अगाडि बढाउन खोजेको बताइएको छ। यसक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संविधानविद्, पूर्वपदाधिकारी तथा अन्य सरोकारवाला व्यक्तिहरूसँग पनि चरणबद्ध रूपमा छलफल गरिने तयारी रहेको छ।

कार्यदलले संकलन भएका सुझाव र धारणालाई समेटेर संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्नेछ। उक्त बहसपत्रले आगामी दिनमा संविधान संशोधनका सम्भावित विषयमा नीतिगत बहसलाई आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।