राष्ट्रिय स्वतन्त्र पार्टीको बारा बैठकबाटै लखेटिए सांसदहरू प्रहरीले गर्यो उद्धार


मधेस प्रदेश l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लामा आयोजित विस्तारित बैठक तनावपूर्ण बनेपछि केही सांसदहरूलाई बैठक स्थलबाटै बाहिर निकालिएको छ।

कलैयामा भएको बैठकका क्रममा प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी रहेका थिए। बैठकमा संस्थापक पक्ष र केही सांसदबीच मतभेद बढ्दै जाँदा स्थिति चर्किएको बताइएको छ।

सहभागीहरूका अनुसार विवाद बढेपछि आक्रोशित कार्यकर्ताले सांसदहरूलाई धकेलेर बैठक स्थलबाट बाहिर निकालेका थिए। अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा उद्धार गरेको जनाइएको छ।

यसअघि संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज भएपछि रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवाद अझ गहिरिँदै गएको देखिएको छ।