विपक्षीको विरोधलाई रास्वपा सांसद जगदीश खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव


काठमाडौं  – विपक्षी दलहरूले प्रतिनिधिसभामा गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेल ले ‘तमासा’ भनेपछि सदनमा तनाव उत्पन्न भएको छ । प्रधानमन्त्रीको जवाफदेहिता र सदनमा उपस्थितिको माग गर्दै विपक्षीहरूले निरन्तर विरोध गरिरहेका बेला खरेलको उक्त अभिव्यक्तिपछि बैठक केहीबेर अवरुद्ध भएको हो ।

कार्यसूचीअनुसार पर्यटन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुगेका खरेलले सुरुमै विपक्षीलाई लक्षित गर्दै टिप्पणी गरेपछि उनीविरुद्ध विपक्षी सांसदहरू आक्रोशित बनेका थिए । त्यसक्रममा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरूङ रोस्ट्रमतर्फ अघि बढ्न खोजे पनि प्रमुख सचेत वासना थापाले सम्हालेर पछाडि हटाएकी थिइन् ।

यसअघि पनि सभामुखले संसद्मा अमर्यादित शब्द प्रयोग नगर्न पटक–पटक रुलिङ गर्दै आएका छन् भने केही सांसदका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको उदाहरण समेत रहेको छ ।

खरेलले संसदमा भइरहेको अवरोधलाई संकेत गर्दै आठवटा अध्यादेश ल्याउनुपर्ने अवस्थाबारे टिप्पणी गरेका थिए । उनले संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कानुन निर्माण प्रक्रिया प्रभावकारी बन्न नसकेको भन्दै विपक्षीलाई जिम्मेवार हुन आग्रह गरेका थिए ।

उनको अभिव्यक्तिपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेपछि सदनमा स्थिति तनावपूर्ण भएको र सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।