सरकारलाई मेयर्स फोरमले भन्यो आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिनु


काठमाडौं l उपत्यका मेयर्स फोरमले सरकारले आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णय संविधानविपरीत भएको निष्कर्ष निकालेको हो ।

फोरमका अध्यक्ष तथा चिरिबाबु महर्जन ले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताएका छन् ।

उनका अनुसार शिक्षा ऐनले विद्यालय वर्षमा २ सय २० दिन सञ्चालन हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले अचानक आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

सरकारको निर्णयका कारण विद्यालयहरू १ सय ९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको महर्जनको भनाइ छ । स्थानीय तहहरूले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्मविपरीत रहेको उनले बताए ।