काठमाडौं । नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट विश्व प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन–५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार दिउँसो मकाउमा भएको ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन्। दोस्रो राउन्डमा उनले प्रतिद्वन्द्वीलाई भुइँमा ढाल्दै लगातार मुक्का प्रहार गरेर नकआउट जित सुनिश्चित गरेका थिए।
पहिलो राउन्डको सुरुवाती चरणमा केही कठिन परिस्थितिको सामना गरे पनि रवीन्द्रले आफूलाई सम्हाल्दै प्रतिद्वन्द्वीका आक्रमणको प्रभावकारी जवाफ दिएका थिए। दोस्रो राउन्डभर उनले ‘क्लिन्च’को उत्कृष्ट प्रयोग गर्दै अलिन्टोजोनमाथि लगातार दबाब कायम राखे।
‘बझाङका बाघ’ उपनामले परिचित रवीन्द्रले अब सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ब्यान्टमवेट विधामा विजेता बनेमा उनी युएफसीको मुख्य रोस्टरमा प्रवेश गर्नेछन्।
जितपछि प्रतिक्रिया दिँदै रवीन्द्रले भने, “यो केवल पहिलो चरण हो। अझै धेरै चुनौती बाँकी छन्। यो जितले मलाई धेरै खुसी दिएको छ। जय नेपाल, जय हनुमान।”
‘रोड टु युएफसी’ मा सहभागी हुनुअघि रवीन्द्रको व्यावसायिक एमएमए रेकर्ड ९ जित र १ हार रहेको थियो। उनले गत वर्ष भारतको ग्रेटर नोएडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’ मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए।
















प्रतिक्रिया