काठमाडौं l नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले १९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा जारी सन्देशमा अध्यक्ष ओलीले ठीक अठार वर्षअघि जननिर्वाचित संविधानसभामार्फत नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक क्षण स्मरण गर्नुभएको छ । उहाँले सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागपछि जनताले आफ्नो शासन प्रणाली आफैं निर्धारण गर्ने अधिकार प्राप्त गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार व्यक्त गर्ने अधिकारका लागि हजारौं अग्रजहरूले जीवन उत्सर्ग गरेको र कैयौंले जेलनेल, यातना तथा निर्वासन भोग्नुपरेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले गणतन्त्र स्थापना भएसँगै हुकुमबाट चल्ने व्यवस्था अन्त्य भई कानुन र लोकतान्त्रिक संस्थामार्फत शासन सञ्चालन हुने प्रणाली सुरु भएको उल्लेख गर्नुभएको छ । साथै, गणतन्त्र केवल शासन परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको पनि उहाँले बताउनुभएको छ ।
उहाँका अनुसार गणतन्त्रको छोटो अभ्यासका बाबजुद देशमा सामाजिक तथा भौतिक विकास, समावेशिता, नागरिक स्वतन्त्रता, डिजिटल सेवा विस्तार, स्थानीय सरकारको पहुँच र पूर्वाधार विकासजस्ता महत्वपूर्ण उपलब्धि हासिल भएका छन् ।
तर, परिवर्तनको गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभएको छ । संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षण नै गणतन्त्रको रक्षा भएको उहाँको भनाइ छ ।
उहाँले अन्त्यमा लोकतान्त्रिक गणतन्त्रको रक्षा नै जनताको भविष्यको सुरक्षा भएको उल्लेख गर्दै सबै नेपालीमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

















प्रतिक्रिया