राष्ट्रिय महिला अधिकार दिवसमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना


काठमाडौं । राष्ट्रिय महिला अधिकार दिवस २०८३ जेष्ठ १६ गते अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह ले सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

“महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने नारासहित मनाइएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी सन्देशमा प्रधानमन्त्री शाहले महिला हक, अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन्।

शुभकामना सन्देशमा नेपालको संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै राज्यका सबै निकाय र संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिइएको जनाइएको छ।

सन्देशमा महिला सशक्तीकरण, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा सुधार हुँदै गएको उल्लेख गर्दै घरेलु हिंसा, दाइजो, छुवाछूत तथा अन्य विभेदजन्य कुप्रथाको अन्त्य गर्न सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्री शाहले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गरी समानतामूलक समाज निर्माणका लागि राज्य प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। साथै महिलाको सर्वाङ्गीण उत्थान र सशक्तीकरणका लागि सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा राष्ट्रिय महिला अधिकार दिवस तथा आगामी दिनहरूले महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।