सरकार गलत दिशामा गए घण्टी बजाएर सचेत गराउन सभामुखको आग्रह


काठमाडौं l सभामुख डोलप्रसाद अर्यालले सरकार गलत दिशामा गएमा वा काममा ढिलाइ गरेमा समयमै घण्टी बजाएर सचेत गराउन आग्रह गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुन निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै खबरदारी गर्न सबै पक्षलाई आह्वान गरे। देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन राज्यका सबै निकाय र नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

सभामुख अर्यालले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने जिम्मेवारी वर्तमान पुस्ताकै काँधमा रहेको उल्लेख गर्दै विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने वातावरण सिर्जना गर्नुपर्ने बताए। साथै नेपाललाई बस्न, काम गर्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रवर्द्धन गर्न सके अन्तर्राष्ट्रिय पर्यटनमा ठूलो फड्को मार्न सकिने उनको भनाइ थियो। उनले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिरजस्ता गन्तव्यहरूले नेपाललाई विश्व पर्यटनको प्रमुख केन्द्र बनाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए।