५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग


काठमाडौं l उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्।

सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था प्रस्ताव गरेको छ। यसप्रति आपत्ति जनाउँदै घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका हुन्।

उनले उक्त निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका छन्। घिसिङका अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता भएकाले यस्तो करले लाखौँ परिवारको मासिक खर्च बढाउनेछ।

उनले सरकारले विद्युत् खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा उल्टै विद्युत् प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको टिप्पणी गरेका छन्। यसले विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासप्रतिको निर्भरता बढाउन सक्ने उनको भनाइ छ।

घिसिङले यस्तो निर्णय राष्ट्रिय ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण तथा हरित अर्थतन्त्र निर्माणको लक्ष्यसँग समेत मेल नखाने उल्लेख गर्दै सरकारले तत्काल पुनर्विचार गरी निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।

Screenshot