काठमाडौं l राष्ट्रिय प्रजातन्त्र पार्टी की सांसद खुस्बु ओली ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा चीनका विषयमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाअनुकूल नभएको टिप्पणी गरेकी छन्।
प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले चीनको विकासको उदाहरण प्रस्तुत गर्दै राखेको धारणाप्रति असन्तुष्टि जनाउँदै ओलीले प्रधानमन्त्रीको जवाफ अमूर्त र अपूरो रहेको बताइन्। उनका अनुसार संसद्मा उठाइएका केही गम्भीर प्रश्नहरूलाई प्रधानमन्त्रीले पर्याप्त रूपमा सम्बोधन गर्न सकेनन्।
ओलीले भनिन्, “प्रधानमन्त्रीले संसद्मा आएर दिनुभएको जवाफ धेरै अमूर्त थियो। त्यहाँ केही गम्भीर प्रश्नहरू थिए, जसलाई उहाँले सम्बोधन गर्न सक्नुभएन वा बिर्सनुभयो। विशेषगरी उहाँले चीनको विषयमा एउटा टिप्पणी गर्नुभयो, जुन कूटनीतिक मर्यादाअनुकूल भएन कि भन्ने मलाई लाग्छ। त्यो गलत भयो।”
उनले प्रधानमन्त्रीले छिमेकी मुलुकसँग सम्बन्धित विषयहरू हतारमा र पर्याप्त परिपक्वताविना संसद्मा उठाउँदा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिइन्। साथै, सरकारको वैदेशिक नीति र कूटनीतिक दृष्टिकोणबारे पनि स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विभिन्न दलका सांसदहरूले फरक–फरक धारणा राखिरहेका छन् भने यस विषयले राजनीतिक तथा कूटनीतिक बहसलाई थप तातो बनाएको छ।
















प्रतिक्रिया