काठमाडौं l नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।आइतबार जारी प्रतिक्रिया अनुसार श्रेष्ठले प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने आशयमा दिएको अभिव्यक्तिलाई शतप्रतिशत गलत, गैरजिम्मेवार, राष्ट्रघाती र घातक भएको आरोप लगाएका छन्।
उनले उक्त अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानप्रति सचेत नेपाली जनतालाई आक्रोशित र लज्जित बनाएको दाबी गरेका छन्।
श्रेष्ठले लिम्पियाधुरा–लिपुलेक–कालापानी र सुस्ता क्षेत्र नेपालकै भूमि भएको दाबी गर्दै त्यसलाई स्थापित गर्ने नेपालको निरन्तर कूटनीतिक प्रयासमा यस्तो अभिव्यक्तिले असर पार्न सक्ने बताएका छन्।
उनले सीमा विवाद समाधानका लागि विगतमा भएका नेपाल–भारत प्राविधिक तथा कूटनीतिक संयन्त्रहरूको निर्णय उल्लेख गर्दै नेपालले आफ्नो दाबी र अडान निरन्तर राख्दै आएको पनि स्मरण गराएका छन्।
प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सच्याउन, संसदमा माफी माग्न र अभिलेखबाट हटाउनुपर्ने मागसमेत उनले गरेका छन्।
















प्रतिक्रिया