छात्रवृत्ति छनोट परीक्षामा १४ हजार भन्दा बढी विद्यार्थी उत्तीर्ण


काठमाडौं l काठमाडौं महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ अध्ययनका लागि प्रदान गरिनेछ।

विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।

यसैबीच, प्रकाशित प्रारम्भिक योग्यता क्रमप्रति चित्त नबुझेका उम्मेदवारलाई पुनर्योग (Re-totaling/Review) का लागि आवेदन दिन २ दिनको समय प्रदान गरिएको छ।

महानगरपालिकाले पुनर्योग सम्बन्धी प्रक्रिया र अन्तिम नतिजाबारे थप जानकारी सम्बन्धित पोर्टलमार्फत उपलब्ध गराउने जनाएको छ।