काठमाडौं l संविधानविद् डा.भिमा अर्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
आचार्यले उक्त अभिव्यक्तिलाई असामान्य र गम्भीर विषय भएको उल्लेख गर्दै नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील मुद्दामा सरकार प्रमुखबाट आएको यस्तो धारणा चिन्ताजनक रहेको बताएका छन्। उनका अनुसार हालसम्म कुनै पनि प्रधानमन्त्रीले संसदभित्र वा बाहिर यस प्रकारको अभिव्यक्ति दिएको रेकर्ड नरहेको र यस्तो अभिव्यक्ति अपेक्षित पनि नभएको बताएका छन्।
उनले प्रधानमन्त्रीको भनाइले नेपाली भूमि अतिक्रमणसम्बन्धी नेपालको स्थापित दाबीलाई कमजोर बनाउन सक्ने तर्क गरेका छन्। नेपालको भूमि अतिक्रमण भइरहेको विषयमा अन्तर्राष्ट्रिय तथा कूटनीतिक स्तरमा उठाइँदै आएको मुद्दालाई यस्तो अभिव्यक्तिले अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने उनको भनाइ छ।
आचार्यले सीमा मिच्ने कार्य दुवै देशबाट भएको जस्तो सन्देश सरकार प्रमुखबाट आउनुले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने विषयमा सरकारको प्रतिबद्धतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
दुई देशबीचको सीमा विवाद समाधानका लागि तेस्रो पक्षको उपस्थितिको चर्चा गरिएको विषयलाई पनि उनले थप चिन्ताजनक रहेको बताएका छन्। नेपालको सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार अझ जिम्मेवार र स्पष्ट हुनुपर्ने उनको धारणा छ।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस जारी रहेका बेला आचार्यको टिप्पणी सार्वजनिक भएको हो। यस विषयमा प्रतिपक्षी दलहरूले समेत संसदमा विरोध जनाउने तयारी गरेका छन्।

















प्रतिक्रिया