काठमाडौं l वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार सिंहलाई बिहान करिब ६:१५ बजे नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध लिखत किर्ते तथा नागरिकता सम्बन्धी अनियमितताको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा सिंहसहित अन्य व्यक्तिविरुद्ध पनि अनुसन्धान अघि बढाइएको बताइएको छ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी आवश्यक प्रमाण संकलन तथा बयान लिने कार्य जारी रहेको जनाएको छ।

















प्रतिक्रिया