दरबार हत्याकाण्डको २५ वर्ष पूरा अझै रहस्यकै घेरामा नारायणहिटीको त्यो कालरात्रि


काठमाडौं l आज २०८३ साल जेठ १९ गते नेपाल इतिहासको सबैभन्दा दुःखद र विवादास्पद घटनामध्ये एक मानिने नेपाली शाही नरसंहार भएको २५ वर्ष पूरा भएको छ।

२०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा भएको गोलीकाण्डमा तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। उक्त घटनाले नेपाललाई स्तब्ध बनाएको थियो भने नेपाली राजतन्त्रको इतिहासमै सबैभन्दा ठूलो संकट निम्त्याएको थियो।

सरकारी छानबिनले युवराज दिपेन्द्र वीर विक्रम शाह ले गोली चलाएको निष्कर्ष निकालेको थियो। घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी शान्ति, राजकुमारी शारदा, राजकुमारी जयन्ती तथा कुमार खड्गसहित नौ जनाको घटनास्थलमै वा उपचारका क्रममा मृत्यु भएको थियो। गोली चलाएको आरोप लागेका युवराज दीपेन्द्र स्वयं पनि गम्भीर घाइते भई कोमामा पुगेका थिए र तीन दिनपछि उनको निधन भएको थियो।

यद्यपि सरकारी प्रतिवेदन सार्वजनिक भए पनि घटनासँग सम्बन्धित अनेक प्रश्नहरू आजसम्म उठिरहेकै छन्। छानबिनको प्रक्रिया, घटनास्थलको व्यवस्थापन, प्रत्यक्षदर्शीहरूको अभाव तथा विभिन्न दाबी–प्रतिदाबीका कारण यो घटना अझै पनि नेपाली समाजमा रहस्य र विवादको विषय बनेको छ।

यस घटनापछि राजा ञानेन्द्र शाह सिंहासनमा आरोहण गरेका थिए। तर त्यसको केही वर्षपछि राजनीतिक परिवर्तनको क्रम तीव्र बन्दै गयो र अन्ततः २०६५ सालमा नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।

एक चौथाइ शताब्दी बितिसक्दा पनि नारायणहिटीको त्यो कालरात्रि नेपाली इतिहासको पीडादायी स्मृति बनेर बाँचेको छ। दरबार हत्याकाण्डबारेका जिज्ञासा, बहस र प्रश्नहरू आज पनि पूर्ण रूपमा मेटिएका छैनन्, जसका कारण यो घटना नेपालको इतिहासकै सबैभन्दा रहस्यमय अध्यायमध्ये एकका रूपमा स्मरण गरिन्छ।