भन्सार छलिको आशंकामा ७७६ विद्युतीय गाडी नियन्त्रणमा


काठमाडौं l कोरोला नाकाबाट नेपाल भित्रिएका ७७६ वटा विद्युतीय (ईभी) गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

भन्सार छली गरी ल्याइएको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा, कास्कीको हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट बुधबार राति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको मुस्ताङस्थित नं. ३३ गुल्म, म्याग्दी गुल्म, पर्वतस्थित नं. २५ चण्डिका गण तथा कास्कीस्थित नं. २४ कालिका गणबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार जोमसोम, कुस्मा र हेम्जाबाट ७७४ वटा तथा नुवाकोटबाट थप २ वटा गरी कुल ७७६ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका अधिकांश गाडी नम्बर प्लेटविहीन रहेका छन्। नियन्त्रणमा लिइएका सबै गाडीलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।