काठमाडौं l काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल को ओपीडी सेवालाई थप आधुनिक र बिरामीमैत्री बनाउन १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल ले अस्पतालका प्रमुख डा. सुवास आचार्य लाई उपकरण हस्तान्तरण गर्दै सरकारी अस्पतालमा उपचारका लागि लामो लाइन बस्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।

प्रदान गरिएका उपकरणमा १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन र ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर रहेका छन्। यी प्रणालीमार्फत बिरामीले शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट, घरबाटै रकम जम्मा तथा उपचारसम्बन्धी विवरण सहज रूपमा प्राप्त गर्न सक्नेछन्। साथै अस्पतालको सर्भर र र्याम क्षमता पनि विस्तार गरिएको छ।
कार्यक्रममा डंगोलले प्रविधिको प्रयोगबाट ओपीडी टिकट, शुल्क भुक्तानी र रिपोर्ट प्राप्तिका प्रक्रियालाई सहज बनाई बिरामी तथा उनका आफन्तको समय र दुःख कम गर्न खोजिएको बताउनुभयो। उहाँले स्थानीय सरकार नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष रूपमा जोडिनुपर्ने आवश्यकता औंल्याउँदै भविष्यमा अस्पतालसँग सहकार्य गरी टेलि-स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने सम्भावना पनि व्यक्त गर्नुभयो।

अस्पताल प्रमुख डा. आचार्यले महानगरपालिकाको सहयोगले सेवा व्यवस्थापनमा उल्लेखनीय सुधार आएको बताउँदै दोस्रो चरणको सहयोग प्राप्त भए क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस प्रणालीमा रूपान्तरण गर्न सकिने बताउनुभयो।
अस्पतालका उपनिर्देशकहरू पवनराज चालिसे र गोपाल सेढाइँ ले पनि महानगरपालिकाको निरन्तर सहयोगले अस्पतालको सेवा व्यवस्थापन प्रभावकारी बन्दै गएको धारणा राख्नुभयो।
महानगरपालिकाले यसअघि पनि कोभिड–१९ नियन्त्रणका लागि भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको बेड क्यु व्यवस्थापन प्रणालीमा सहयोग उपलब्ध गराइसकेको छ। यो नयाँ सहयोगले विशेषगरी ओपीडी सेवामा डिजिटल रूपान्तरणलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया