उपराष्ट्रपति सचिवले प्रधानमन्त्रीलाई राजदुत पद मागेको आरोप, सोधपुछपछि रिहा


काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीसँग सिधै सम्पर्क गरी राजदूत पदको माग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको दाबी गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनलाई नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेको र त्यसपछि रिहा गरेको स्रोतहरूको भनाइ छ। प्रहरी स्रोतका अनुसार सचिव पुष्करमाथि सरकारी सेवाको ‘चेन अफ कमाण्ड’ उल्लंघन गरेको विषयमा अनुसन्धान गरिएको हो।

स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै म्यासेज पठाउँदै आफूलाई राजदूत नियुक्त गर्न आग्रह गरेका थिए। पदीय मर्यादा र प्रशासनिक प्रक्रियाविपरीत व्यक्तिगत रूपमा पद मागेको आरोपपछि प्रधानमन्त्री कार्यालयको चासो बढेको बताइएको छ।

हाल उनको सरकारी सेवाको अवधि करिब एक महिना मात्र बाँकी रहेको जनाइएको छ। यसअघि मुख्यसचिव नियुक्तिको दौडमा समेत उनको नाम चर्चामा रहेकामा सरकारले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनी उक्त प्रतिस्पर्धाबाट बाहिरिएका थिए।