संसद् स्थगनप्रति राप्रपा प्रमुख सचेतक खुस्बु ओलीको प्रश्न


काठमाडौँ । प्रतिनिधिसभा अवरोध र पछिल्ला पाँच दिनको स्थगनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली ले प्रश्न उठाएकी छन्।

उनका अनुसार सदनको गतिरोध अन्त्य गर्न संवाद, राजनीतिक सहमति र समाधान खोज्ने उद्देश्य नै नभए लामो समयसम्म संसद् स्थगित गर्नुको औचित्यमाथि गम्भीर प्रश्न उठ्छ। भोलि संसद् पुनः सञ्चालन भए पनि कुनै ठोस निष्कर्ष बिना पुरानै विवादको अवस्थाबाट प्रक्रिया अघि बढ्ने देखिएको उनले टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्ष मात्र होइन, सत्तारूढ दलका केही सांसदका संशोधन प्रस्तावसमेत बेवास्ता गरिएको आरोपपछि सदन अवरुद्ध भएको थियो। त्यसपछि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले स्थिति थप जटिल बनेको उनको भनाइ छ।

उनले पाँच दिनसम्म कुनै औपचारिक संवाद वा समाधानका पहल नभएको दाबी गर्दै संसद् स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिएको आशंका उत्पन्न भएको बताएकी छन्।

साथै, उनले संसद् कुनै दल वा व्यक्तिको सुविधा होइन, जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएको भन्दै संसदीय मर्यादा र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएकी छन्।