काठमाडौं – प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री पदमा पुनः सुधन गुरुङलाई नियुक्त गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथ ग्रहण हुने तयारीसमेत गरिएको छ।
शपथका लागि तयारी गर्न प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयलाई आवश्यक समन्वय गर्न भनिएको छ। यसअघि गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए।
त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको थियो। समितिले हालै बुझाएको प्रतिवेदनमा कुनै ठूलो कैफियत नदेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनलाई पुनः जिम्मेवारी दिन लागेको बताइएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। तर सरकारका प्रवक्ता सस्मित पोखरेलले भने मन्त्रिपरिषद्ले तत्काल गृहमन्त्री नियुक्त गर्ने औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।
उनका अनुसार प्रतिवेदन अध्ययनपछि मात्रै आवश्यक निर्णय हुने र शपथ ग्रहणबारे पछि मात्र निर्णय हुने अवस्था रहेको छ।
छानबिन समितिको प्रतिवेदनमा गुरुङको सम्पत्ति विवरणमा कुनै ठूलो अनियमितता नदेखिएको उल्लेख गरिएको छ। समितिका अनुसार उनले उल्लेख गरेको जग्गा विवरणमा केही स्पष्टता नभए पनि गम्भीर गल्ती वा भ्रष्टाचार पुष्टि हुने आधार भेटिएको छैन।
समितिले धनकुटामा करिब १९ रोपनी १५ आना जग्गा उनको नाममा रहेको उल्लेख गरेको छ भने बाँकी जग्गा परिवारका सदस्य—बुवा र हजुरबुवाको नाममा रहेको देखिएको छ।
चितवनमा ३० कट्ठा र गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको विवरण पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका थिए।
समितिले सिस्टमगत कमजोरीहरू सुधार गर्नुपर्ने सुझाव दिँदै प्रतिवेदन तयार पारेको जनाएको छ।

















प्रतिक्रिया