गोकर्णेश्वर–केएमसी सम्झौताः नगरवासीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत


काठमाडौं, असार १ । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।

कार्यक्रम नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा सम्पन्न भएको थियो । सोमबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा उपचारका लागि केएमसी पुगेका स्थायी बासिन्दाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधा उपयोग गरेपछि थप सहुलियत पाउनेछन् ।

केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, ईएचएस, आईयूआई तथा आईभीएफ, सीटीभीएस सर्जरी, कलेजो प्रत्यारोपण, न्युरो इन्टरभेन्सन, सौन्दर्य तथा कस्मेटिक सेवा, इम्प्लान्ट र सिंगल क्याबिनबाहेकका उपचार सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । सिनामंगल शाखाबाट उपचार गराउँदा यस्तै सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सहुलियत प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुनेछ । सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । औषधि, औषधिजन्य सामग्री तथा उपकरणको खर्चसमेत बिरामीले नै तिर्नुपर्ने व्यवस्था छ ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ उपलब्ध गराउनेछ । अन्य सहुलियत रकमसमेत जोड्दा एक व्यक्तिले नगरपालिकाबाट चार लाख १२ हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्न सक्नेछ । उक्त रकम प्रयोगशाला परीक्षण, शल्यक्रिया, क्याबिन सुविधा तथा औषधिजन्य सामग्रीमा उपयोग गर्न सकिनेछ ।

नगरपालिकाबाट उपलब्ध हुने सहयोग, स्वास्थ्य बीमा तथा विपन्न नागरिक कार्यक्रमबाट प्राप्त सुविधा उपयोग गरिसकेपछि पनि रकम अपुग भएमा केएमसीले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट प्रदान गर्नेछ । त्यसपछि बाँकी रकम बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । सम्झौताअनुसार उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन नगरपालिकाले केएमसीमा सिफारिस गर्नेछ । रगत उपलब्ध गराउँदा प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सम्झौता २०८३ साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ ।

१० लाखसम्मको निःशुल्क मिर्गौला प्रत्यारोपण सम्भव ः शर्मा
केएमसीका सञ्चालक तथा पूर्वसांसद सुनीलकुमार शर्माले सम्झौतापछि गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले मिर्गौला प्रत्यारोपणमा करिब १० लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्ने बताए । उनले सरकार र नगरपालिकाबाट प्राप्त हुने चार लाख १२ हजार तथा केएमसीले प्रदान गर्ने चार लाख १२ हजारबराबरको छुट जोड्दा मिर्गौला प्रत्यारोपणमा आठ लाख २४ हजार रुपैयाँसम्मको खर्च व्यवस्थापन हुने बताए । यसमा विपन्न नागरिक कार्यक्रम र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा थपिँदा करिब १० लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुन सक्ने उनको भनाइ थियो ।

शर्माले भारतमा मिर्गौला प्रत्यारोपण गर्दा यात्रा, बसोबास र उपचार खर्चसहित न्यूनतम ३० लाख रुपैयाँ लाग्ने उल्लेख गर्दै गोकर्णेश्वरका नागरिकले आफ्नै क्षेत्रमा ठूलो राहत प्राप्त गर्ने बताए । सम्झौतापछि अन्य रोगको उपचारमा पनि नगरवासीले लाखौँ रुपैयाँसम्म सहुलियत पाउने भएका छन् । दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम र अस्पतालको छुट जोडेर एउटा बिरामीले चार लाख रुपैयाँसम्मको उपचार सहुलियत प्राप्त गर्न सक्ने शर्माले बताए ।
शर्माले यस्तै प्रकारको कार्यक्रम उपत्यकाका करिब १० नगरपालिका तथा दुर्गम क्षेत्रका १०–२० स्थानीय तहमा विस्तार गर्ने तयारी रहेको जानकारी दिए । आगामी वर्ष गोकर्णेश्वर नगरपालिकाले दुई लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कार्यक्रम लागू गरेमा केएमसीले थप दुई लाख रुपैयाँ बराबरको छुट उपलब्ध गराउने घोषणासमेत उनले गरे । कार्यक्रममा नगर प्रमुख रिसालले केएमसीसँगको सम्झौताले नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई थप बल पुगेको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।