इन्टरनेसनल सेफ सन्तोष साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो


काठमाडौं । ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका इन्टरनेसनल सेफ 
तथा मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविक घटनाको पूर्ण चित्र नभएको दाबी गरेका छन्।

साहले आफूविरुद्धको विवाद २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद प्रकरण नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताउँदै सार्वजनिक गरिएको भिडियोले घटनाको एक पक्ष मात्र देखाएको बताएका छन्।

उनका अनुसार करिब तीन घण्टासम्म चलेको छलफलका क्रममा आफूमाथि दुर्व्यवहार भएको र थुकिएको समेत थियो। तर ती घटनाका दृश्य सार्वजनिक नगरिएको तथा आफ्नो आक्रोश देखिएको केही सेकेन्डको अंश मात्र काटेर सामाजिक सञ्जालमा राखिएको उनको भनाइ छ।

“तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले ममाथि दुर्व्यवहार गरेको र थुकेको देखाइएन, मेरो आक्रोश देखिएको केही सेकेन्डको भिडियो मात्र काटेर सार्वजनिक गरियो,” साहले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा साहलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो। प्रहरीले गौरीधारास्थित रेस्टुरेन्ट खरिदसँग सम्बन्धित आर्थिक लेनदेन तथा चेक सटहीको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

साहले भने आफूले रेस्टुरेन्टसँग सम्बन्धित बैंक ऋण र अन्य दायित्वसमेत लिएको तथा अधिकांश रकम भुक्तानी गरिसकेको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।