कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न खुश्बु ओलीको माग


काठमाडौं l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली ले कुवेतका विभिन्न जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरू अमानवीय पीडा भोग्न बाध्य भएको बताउँदै उनीहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिन्।

उनले समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै कुवेतमा रहेका अन्य नेपाली महिलाहरूको अवस्था पनि अत्यन्तै दयनीय रहेको बताइन्।

‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोकेर जेल पठाएका थिए। मैले फेरि दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो उनी स्वदेश आइपुगिन्,’ ओलीले संसद्मा भनिन्।

उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै उनले कुवेतका जेलहरूमा अझै सयौं नेपाली महिलाहरू रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलनसमेत गुमाइसकेको जानकारी दिइन्।

प्रमुख सचेतक ओलीले कुवेतस्थित नेपाली दूतावास तथा नेपाल सरकारलाई त्यहाँ समस्यामा परेका नेपाली नागरिक, विशेषगरी महिलाहरूको उद्धार, कानुनी सहायता र स्वदेश फिर्तीको प्रक्रिया प्रभावकारी बनाउन आग्रह गरिन्। साथै, वैदेशिक रोजगारीका क्रममा नेपाली महिलाहरू शोषण र मानव बेचबिखनको जोखिममा पर्ने क्रम रोक्न थप प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।