काठमाडौं l उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी ले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योगलाई चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले कपडा तथा धागो उद्योग सञ्चालनसँगै कपासखेतीलाई पनि समानान्तर रूपमा अगाडि बढाइने जानकारी दिइन्।
उनले भनिन्, “रुग्ण उद्योगका रूपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ। कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ। यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्।”
मन्त्री कुमारीले स्वदेशी उद्योगको पुनरुत्थान र उत्पादन वृद्धि सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्यसमेत अघि बढिसकेको जानकारी दिइन्।
सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालनमा ल्याएर रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा औद्योगिक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ।

















प्रतिक्रिया