प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिनेछन् संसद्मा जवाफ प्रधानमन्त्री नआउने


काठमाडौँ l आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आज प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने भएका छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह स्वयंले सम्हालिरहेका छन्। त्यसैले उक्त मन्त्रालयको बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भए पनि उनको तर्फबाट अर्थमन्त्री वाग्लेले संसद्मा जवाफ दिने तयारी भएको छ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग को सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने थियो।

तर प्रधानमन्त्री संसद्मा उपस्थित नहुने भएपछि ती सबै निकायका बजेटसम्बन्धी प्रश्नहरूको जवाफ समेत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै दिने भएका छन्।