पाथीभरा केवलकार विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन


काठमाडौं l सरकारले ताप्लेजुङस्थित मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदललाई केवलकार निर्माणसँग सम्बन्धित विवाद तथा समस्याको अध्ययन गरी १५ दिनभित्र समाधानका सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री सचिवालयका स्वकीय सहसचिव सदस्य रहेका छन्।

सरकारले सबै सरोकारवाला पक्षलाई समेटेर संवाद र सहमतिका आधारमा लामो समयदेखि जारी विवाद समाधान गर्ने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ।