मध्यराती अशोभनीय गतिविधि गरेको आरोपमा चार जना पक्राउ


कोशि । विराटनगरको परोपकार घाटमा मध्यरातमा अशोभनीय गतिविधि गरेको आरोपमा चार जना पक्राउ परेका छन्।प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ स्थित शवदाह स्थल (चितास्थल) मा समूहले आगो बालेर होहल्ला गर्दै अश्लील गतिविधि गरेको सूचना पाएपछि निगरानी गरिएको थियो। आइतबार राति करिब ६ जनाको समूहले त्यस्ता गतिविधि गरेको र सोमबार राति पुनः दोहोर्याएको स्थानीयले बताएका छन्।

घटनापछि प्रहरीले नियन्त्रणमा लिई चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा विराटनगर–६ का सुरेन्द्रमणि मण्डल (४०), विराटनगर–४ का छबिलाल घिमिरे (४४), सुनसरी रामधुनी–६ का कैलाश ढुंगाना (२५) र भोजपुर रामप्रसाद राई–६ का मनिष काफ्ले (१८) रहेका छन्।

मोरङ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। धार्मिक तथा अन्त्येष्टि स्थलको मर्यादा विपरीत गतिविधि भएको भन्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।