एन्फा निलम्बित, नेपाली फुटबलको भविष्य अन्योलमा


फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो। फिफाले एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै यो निर्णय गरेको जनाएको छ।

निलम्बनसँगै एन्फाले फिफाको सदस्य संस्थाका रूपमा प्राप्त गर्दै आएका सबै अधिकार गुमाएको छ भने नेपाली फुटबल थप अन्योल र अनिश्चितताको अवस्थामा पुगेको छ।

फिफाको निर्णयपछि एन्फा, यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब तथा पदाधिकारीहरू एसियाली फुटबल महासंघ (एएफसी) र फिफाअन्तर्गत सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिता, कार्यक्रम तथा गतिविधिमा सहभागी हुन पाउने छैनन्।

यसका साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा फुटबल विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएको छ। फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता, विकास योजना तथा समग्र गतिविधिमा प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छ।