राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचन सकिएसँगै अब पदाधिकारी चयनमा चासो बढेको छ। केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम आएपछि पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। तर पदाधिकारी सहमतिबाट चयन गर्ने कि निर्वाचनमार्फत भन्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ।
उपसभापतिको खुला कोटामा स्वर्णिम वाग्लेको एकल दाबेदारी रहेकाले उनी सहमतिमै चयन हुन सक्ने सम्भावना छ। महिला उपसभापतिमा भने लिमा अधिकारी, प्रतिभा रावल र सोविता गौतमबीच प्रतिस्पर्धा देखिएको छ।
महामन्त्री पदमा वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित मनिष झा, शिशिर खनाल, गणेश पराजुली र विपिन आचार्यको दाबेदारी रहेकाले सहमति जुटाउन चुनौती हुने देखिएको छ।
सहमहामन्त्री पदमा पनि रमेश प्रसाईं, पुकार बम, यज्ञमणि न्यौपानेलगायत एक दर्जनभन्दा बढी नेताहरू आकांक्षी छन्।
पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएकाले सभापति रवि लामिछानेलाई सहमति जुटाउन कठिन हुने आकलन गरिएको छ। सहमति नभए निर्वाचनमा जाने सम्भावना रहे पनि नेतृत्वले सकेसम्म सहमतिमै पदाधिकारी टुंग्याउने प्रयास गरिरहेको छ। पार्टी स्रोतका अनुसार अधिकांश पुराना पदाधिकारीले निरन्तरता पाउने सम्भावना रहेको छ।

















प्रतिक्रिया