अर्जेन्टिनामा मेसीको ८५ फिट अग्लो विशाल प्रतिमा अनावरण


अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित कट्राल को सहरमा ८५ फिट (२६ मिटर) अग्लो विशाल प्रतिमा अनावरण गरिएको छ। यो हालसम्म निर्माण गरिएको मेसीको सबैभन्दा ठूलो प्रतिमा हो।

स्थानीय कलाकार आल्डो बेरोइसाको नेतृत्वमा १८ महिनाको मेहनतपछि तयार गरिएको प्रतिमामा करिब ७० टन स्टिल प्रयोग गरिएको छ। प्रतिमाले सन् २०२२ को कतार विश्वकप जितेपछि मेसीले गरेको चर्चित उत्सवको दृश्यलाई झल्काएको छ।

प्रतिमामा मेसीले एक हातले अर्जेन्टिनाको जर्सी समातेको र अर्को हातले आकाशतर्फ औँला उठाएको मुद्रा समावेश गरिएको छ। यो मुद्रा उनले गोल गरेपछि आफ्नी दिवंगत हजुरआमाको सम्झनामा प्रायः देखाउने गर्थे।

प्रतिमा अनावरणपछि कट्राल को सहरमा पर्यटक तथा फुटबल समर्थकहरूको चहलपहल बढेको बताइएको छ।

यसअघि भारतको पश्चिम बंगालस्थित कोलकातामा मेसीको ७० फिट अग्लो प्रतिमा निर्माण गरिएको थियो। तर हावामा हल्लिन थालेपछि सुरक्षाको कारण देखाउँदै उक्त प्रतिमा हटाइएको थियो।

यता अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स नजिकै मेसीको विशाल भित्तेचित्र पनि तयार गरिएको छ। कलाकार लियोनेल गार्सियाले १८ दिन लगाएर बनाएको उक्त कलाकृतिमा करिब १,३०० समर्थक सहभागी भएका छन्। मेसीले भिडियो सन्देशमार्फत कलाकार र समर्थकहरूलाई धन्यवाद दिएका छन्।