काठमाडौं । मुलुकको सर्वोच्च नीतिनिर्माण तह संसद् र त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकामाथि जनस्तरबाट प्रश्न उठिरहेका बेला प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आत्मसमीक्षा गर्दै आचरण सुधार्न कडा आग्रह गरेका छन्। लाखौँ मतदाताको विश्वास जितेर संसद्मा पुगेका सांसदहरूले जनअपेक्षाअनुरूप जिम्मेवार, उत्तरदायी र अनुशासित भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
सङ्घीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको सांसदहरूका लागि दुईदिने विशेष अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले संसद्को गरिमा बढाउन सांसदहरूको व्यवहार, कार्यशैली र जिम्मेवारीबोध अनुकरणीय हुनुपर्ने बताए।
“तपाईंहरूका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका छन् र मूल्याङ्कन गरिरहेका छन्,” उनले भने, “त्यसैले जनविश्वास कायम राख्ने गरी मात्र काम गर्नुहोस्।”
संसद्मा नयाँ अनुहारहरूको उल्लेख्य उपस्थितिलाई स्वाभाविक मान्दै उनले नयाँ हुनु कमजोरी नभए पनि संसदीय विधि, प्रक्रिया र कार्यप्रणालीमा दक्ष हुन आवश्यक रहेको बताए। “हामीमध्ये धेरै सांसद नयाँ छौँ। नयाँ हुनु भनेको देश, कानुन वा विधि नबुझेको भन्ने होइन, तर सङ्घीय संसद्को कार्यप्रणालीमा अझ अभ्यस्त हुन बाँकी छ,” उनले भने।
सभामुख अर्यालले अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै सांसदहरूको मूल्याङ्कन भाषणले मात्र नभई समयपालन, अनुशासन र जिम्मेवार आचरणबाट पनि हुने स्पष्ट पारे। संसद्को प्रभावकारिता र मर्यादा कायम राख्न सांसदहरू स्वयं अनुशासित हुनुपर्नेमा उनले विशेष जोड दिए।
तर, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको महत्त्वपूर्ण अभिमुखीकरण कार्यक्रममा नै धेरै सांसद अनुपस्थित देखिएपछि सभामुख अर्यालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले सांसदहरूको यस्तो प्रवृत्तिले संसद्प्रतिको जिम्मेवारीबोधमाथि नै प्रश्न उठ्ने संकेत गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।

















प्रतिक्रिया