२४ घण्टामा १,५९२ सवारी कारबाही, २० लाखभन्दा बढी राजस्व सङ्कलन


काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५९२ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लङ्घन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको हो।

त्यसैगरी, सवारीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लङ्घन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी चलाउने ३२ जना तथा अन्य विभिन्न ट्राफिक कसुरमा १ हजार ५८ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय ट्राफिक अनुशासन कडाइका साथ कार्यान्वयन गर्दै नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि नियमित निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।