गृहमन्त्रीको ठाडो निर्देशन होटल रेस्टुरेन्टको खाद्य गुणस्तरमा कडाइ


काठमाडौं । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई होटल तथा रेस्टुरेन्टमा खाद्यान्नको गुणस्तर, सरसफाइ र बजार अनुगमन प्रभावकारी बनाउन विशेष निर्देशन दिएको छ।

गृह मन्त्रालयले जारी गरेको निर्देशनमा केही होटल तथा रेस्टुरेन्टमा खाद्यान्नको गुणस्तर र स्वच्छता कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासा प्राप्त भएको उल्लेख गरिएको छ। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकाले नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न मन्त्रालयले निर्देशन दिएको हो।

निर्देशनअनुसार खाद्य स्वच्छता (हाइजिन) सम्बन्धी मापदण्ड उल्लंघन गर्ने तथा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु उत्पादन वा बिक्री–वितरण गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न भनिएको छ।

त्यस्तै, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा उजुरी दर्ता गर्न सक्ने गरी गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा हेल्पडेस्क) तत्काल सञ्चालनमा ल्याउन तथा प्राप्त सबै गुनासोलाई उच्च प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

स्थानीय तहका गुनासा र समस्याहरू प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला स्तरमै समाधान गर्न, साना–तिना विषयमा नागरिकले केन्द्र वा मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य गर्न तथा जिल्ला प्रशासनको कार्यसम्पादनमा कुनै पनि प्रकारको लापरवाही वा उदासीनता नदेखाउन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ।

गृह मन्त्रालयले नागरिक केन्द्रित शासन प्रणालीलाई प्रभावकारी बनाउँदै बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले पूर्ण व्यावसायिकता प्रदर्शन गर्ने विश्वाससमेत व्यक्त गरेको छ।