रिपोर्टर्स क्लब नेपाल चाँडै सञ्चालनमा आउने, ऋषि धमलाको घोषणा


काठमाडौं । नेपाली सञ्चार जगतका चर्चित पत्रकार ऋषि धमलाले करिब साढे दुई महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल चाँडै पुनः सञ्चालनमा आउने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष धमलाले रिपोर्टर्स क्लब नेपाली पत्रकारिताको महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै यसको पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए। क्लब बन्द रहँदा आफूलाई निकै पीडा भएको बताउँदै उनले इतिहासका हरेक मोडमा देश र जनताको आवाज बनेको संस्था निष्क्रिय हुँदा रातभर निद्रा नपरेको समेत भावुक अभिव्यक्ति दिए।

साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय धमलाले १४ वर्षको उमेरदेखि श्रमजीवी पत्रकार, लोकतन्त्र र विधिको शासनका पक्षमा निरन्तर संघर्ष गर्दै आएको स्मरण गरे।

२०५४ साल चैत १७ गते स्थापना भएको रिपोर्टर्स क्लब नेपालको इतिहास नेपाली राजनीतिको महत्वपूर्ण दस्तावेज भएको दाबी गर्दै उनले पहिलो साक्षात्कार कार्यक्रममा स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सहभागी भएको उल्लेख गरे। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा कर्फ्युका बीच पनि क्लबले कार्यक्रम सञ्चालन गरेको र विभिन्न राजनीतिक आन्दोलनका क्रममा समेत बहसलाई निरन्तरता दिएको उनले बताए।

धमलाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्र छाडेर राजनीतिमा प्रवेश गर्ने घोषणा पनि रिपोर्टर्स क्लबकै मञ्चबाट गरेका थिए। त्यस्तै भारतका राजनाथ सिंह, प्रणव मुखर्जी, सीताराम येचुरी, शरद यादव, लालुप्रसाद यादवलगायत अन्तर्राष्ट्रिय व्यक्तित्व तथा विभिन्न देशका राजदूतहरूले पनि क्लबको मञ्च प्रयोग गरेका थिए।

क्लबले सधैं सत्तालाई खबरदारी गर्दै उत्पीडित, दलित, मधेसी, महिला, राउटे, चेपाङ, वादीलगायत समुदायका आवाज उठाउने साझा चौतारीको भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

२०७२ सालको भूकम्पपछि पुतलीसडकबाट भृकुटीमण्डपमा सारिएको क्लब समाजकल्याण परिषद्सँगको सम्झौताअनुसार मासिक ३८ हजार ७ सय रुपैयाँ भाडा तिरेर सञ्चालन हुँदै आएको जानकारी दिँदै धमलाले राज्यलाई तिर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरिएको दाबी गरे। आफू सधैं कानुन र राज्यको नीतिप्रति प्रतिबद्ध रहेको पनि उनले बताए।

क्लब बन्द हुँदा विशेषगरी नयाँ पुस्ताका पत्रकारहरू समाचारको स्रोतबाट वञ्चित भएको उल्लेख गर्दै उनले अब पुनः समाचारको मुहान खुल्ने विश्वास व्यक्त गरे।

धमलाले क्लब सञ्चालनका लागि सहजीकरण गरिदिन सम्बन्धित निकाय र समाजकल्याण परिषद्सँग आग्रह गर्दै भविष्यमा पनि पीडित तथा बिरामीहरूको उपचारका लागि सहयोग संकलनजस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने बताए।

यसैबीच, स्वतन्त्र नागरिक अभियानका अध्यक्षसमेत रहेका धमलाले देशको समसामयिक विषय र पत्रकारहरूको हकहितका लागि आगामी २० गते माइतीघर मण्डलामा आयोजना हुने कार्यक्रममा पत्रकार तथा नागरिकहरूलाई सहभागी हुन आग्रह गरे। सो अवसरमा बालेन सरकारको सय दिनको समीक्षा पनि गरिने उनले जानकारी दिए।