मूल्य घटेपछि इन्धन लुकाउने पम्पमाथि कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै देशका विभिन्न स्थानबाट “पेट्रोल छैन” र “डिजेल छैन” भन्दै बिक्री रोकिएको सूचना प्राप्त भएको बताएका छन्। उनले मूल्य घटेपछि पुरानो महँगो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर बढी नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनले यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उल्लेख गर्दै सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन टोलीलाई तत्काल बजार अनुगमन तीव्र बनाउन आग्रह गरेका छन्। साथै, इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

शाहीले आम उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै, आफ्नो क्षेत्रमा मूल्य घटेपछि इन्धन लुकाइएको, “स्टक छैन” भन्दै बिक्री रोकिएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराइदिन अपिल गरेका छन्। प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पहल गर्ने उनले बताएका छन्।

उल्लेखनीय छ, सरकारले हिजो मात्र पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। त्यसपछि केही स्थानमा इन्धन बिक्री रोकिएको र कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासो सार्वजनिक हुन थालेपछि यो विषयले व्यापक चासो पाएको छ।