काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी व्यक्ति पार्टी सदस्य रहेको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा पार्टीले नेपालका प्रचलित कानुन, संविधान तथा बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति, अभ्यास वा उद्देश्य नरहेको स्पष्ट गरेको छ।
रास्वपाले पार्टीको डिजिटल सदस्यता प्रणालीमा सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक–फरक प्रक्रिया भएको उल्लेख गर्दै महाधिवेशनमा प्रस्तुत तथ्याङ्क प्रमाणित सदस्यको नभई आवेदन दिनेहरूको प्रारम्भिक (Self-declared) विवरणको समष्टिगत विश्लेषण मात्र भएको जनाएको छ।
विज्ञप्तिअनुसार आवेदनका क्रममा वि.सं. र ई.सं. पात्रो छनोटमा त्रुटि, जन्ममिति प्रविष्टिमा टाइपिङ गल्ती तथा हालको मिति राखिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक अध्ययनबाट खुलेको छ।
पार्टीका अनुसार हाल डिजिटल प्रणालीमा दर्ता भएका ५ लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये ३ लाख ९० हजार ११२ जनाको विवरण नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा छन्।
रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिसकेको जनाउँदै १८ वर्षभन्दा कम उमेर देखिने आवेदन स्वतः रोक्ने व्यवस्था, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण, गल्तीले स्वीकृत भएका सदस्यता तत्काल खारेज गर्ने तथा वि.सं.–ई.सं. सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुधार लागू गरिने जनाएको छ।
साथै, पर्याप्त प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदनका कच्चा तथ्याङ्क सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक र सञ्चारमाध्यममा भ्रम सिर्जना भएको स्वीकार गर्दै पार्टीले त्यसप्रति दुःख व्यक्त गरेको छ। सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ।



















प्रतिक्रिया