नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने २३ जना पक्राउ


काठमाडौं। काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिने गतिविधिमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुबाट आएका जनगुनासोका आधारमा सादा पोसाकमा विशेष अनुगमन सञ्चालन गरेको थियो। सो क्रममा यात्रुलाई हैरानी दिने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा उनीहरूले सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीमाथि अभद्र व्यवहारसमेत गरेका थिए। त्यसपछि उनीहरूलाई असार १७ गते नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

पक्राउ पर्नेमा रुपन्देही, गोरखा, जुम्ला, बाँके, दाङ, रोल्पा, कास्की, डडेलधुरा, मुगु, उदयपुर, कैलाली, स्याङ्जालगायत विभिन्न जिल्लाका १७ देखि ६० वर्ष उमेर समूहका २३ जना रहेका छन्।

ट्राफिक प्रहरीले सार्वजनिक यातायात क्षेत्रमा यात्रुमाथि हुने ठगी, जबर्जस्ती, झोला तान्ने तथा अन्य अवाञ्छित गतिविधिविरुद्ध अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।