काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि ‘ठेकेदारको खुट्टा भाँचिदिनु’ भन्ने अभिव्यक्तिका कारण चर्चामा आएका उनले यसपटक जनताको काममा लापरवाही गर्ने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासँगको भेटमा बोल्दै मन्त्री लम्सालले जनताको काममा उत्तरदायी नभए स्थानीय तहका प्रमुखदेखि प्रदेश सरकारका मन्त्रीसम्मलाई कारबाही गरिने बताएका हुन्। उनको उक्त भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।
‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, मेयरलाई नै कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई पनि थुन्छौं, चिन्ता लिनुपर्दैन,’ उनले भने।
उनले विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरूले जिम्मेवार र सेवामुखी भएर काम गर्नुपर्ने बताए।
मन्त्री लम्सालका अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ र नागरिकका कामलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ।

















प्रतिक्रिया