मोरङमा देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या


बिराटनगर। मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनामा हस्तक्षेप गर्न पुगेका एक जना पुरुष पनि घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीमाथि उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेपछि सिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका क्रममा झगडा छुट्याउन पुगेका ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) पनि घाइते भएका छन्। उनको दाहिने काँधमा गहिरो चोट लागेको छ। उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैंचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको कारण खुलिनसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।