झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न मन्त्रालय सक्रिय, विशेष कार्यदल गठन


काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले समस्या समाधानका लागि विशेष पहल थालेको छ।

मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ। कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन गर्ने, समस्या समाधानका उपाय कार्यान्वयन गर्ने तथा उपभोक्ताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।

ऊर्जा मन्त्रीले जनताका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, लापरवाही वा कमजोरी देखिए आवश्यक कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिइएको ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिवले जानकारी दिएका छन्।

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।