काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि विभिन्न विधेयकमाथि छलफल र समितिमा पठाउने प्रस्तावसम्मका कार्यसूची तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन्।
त्यसैगरी, मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक सदनमा पेस गर्नेछिन्। साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


















प्रतिक्रिया