काठमाडौं । देशका अधिकांश जिल्लामा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ।
विभागका अनुसार हालसम्म देशभर बर्डफ्लु नियन्त्रणका क्रममा ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा २ लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ।
त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।
डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार गरिएको छ। सोही प्रतिवेदनका आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपायहरू कार्यान्वयन भइरहेको विभागले जनाएको छ।

















प्रतिक्रिया